काठमाडौं, २०८३ वैशाख ३१ — सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) बीच स्वास्थ्य सेवा प्रवाह सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्री प्रेम प्रसाद आचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष एवं वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले हस्ताक्षर गर्नुभएको हो।
सम्झौतासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमार्फत कोषअन्तर्गत आफ्ना सन्ततिहरूका लागि उपलब्ध स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सक्नेछन्। यसले बाल स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूले योगदानकर्तामैत्री स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय उपचारमा पहुँच अभिवृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई देशभर सहज स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्न विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गर्दै आएको छ।












