गुल्मी, गुल्मीमा फेरि एकपटक विषालु च्याउ खाँदा बिरामी पर्ने घटना दोहोरिएको छ। गुल्मीदरबार गाउँपालिका–१ बलिथुम बजारमा जङ्गलबाट ल्याइएको च्याउ खाएपछि एकै परिवारका पाँच सदस्यसहित छ जना बिरामी परेका हुन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिरामी हुनेहरूमा ८३ वर्षीय केरसिंह रजाली, उनका बुहारी ३३ वर्षीय हिमा रजाली, नातिनीहरू १६ वर्षीया एलिना रजाली, १३ वर्षीया बिपना रजाली, नाती १० वर्षीय किरण रजाली तथा छिमेकी ३६ वर्षीया बिपना रजाली रहेका छन्।
उनीहरू सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।
गएको वर्ष पनि गुल्मीमै यस्तै घटना दोहोरिएको थियो। रेसुङ्गा नगरपालिका–८ मा आठ जना र मुसिकोट नगरपालिका–४ मा तीन जना विषालु च्याउ खाँदा बिरामी परेका थिए।
प्रत्येक वर्ष वर्षायामसँगै जङ्गलमा उम्रिने च्याउहरू खाना योग्य र अयोग्य छुट्याउन नसक्दा यस्ता घटनाहरू दोहोरिइरहेका छन्। विषालु च्याउका कारण ज्यान जाने जोखिमसमेत रहन्छ, तर जनचेतना अभावका कारण समस्या यथावत् छ।
स्थानीय प्रशासनले च्याउ संकलन र उपभोग गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।











