धादिङ, २०८२ साउन १६ – धादिङ अस्पताल परिसरमा आज एक विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा धादिङ अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष राधिका सापकोटा, चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। साथै, डिभिजन बन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्यसहितका कर्मचारीहरू र लायन्स क्लब अफ काठमाडौँका प्रतिनिधिहरूले समेत कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याए।

अस्पतालको वातावरणलाई स्वच्छ, सुरक्षित र सेवा–मैत्री बनाउने उद्देश्यले आयोजना गरिएको यस सरसफाइ अभियानले सरकारी तथा गैरसरकारी निकायबीचको समन्वय र सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको छ।
कार्यक्रमको क्रममा अस्पताल परिसरमा रहेका फोहर मैला व्यवस्थापन, झाडी कटाई, धुलो सफा गर्ने लगायतका कार्यहरू सम्पन्न गरिएका थिए। उपस्थित सम्पूर्ण सहभागीहरूले नियमित सरसफाइमार्फत सार्वजनिक स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न सकिने कुरामा एकमत जनाए।
धादिङ बन डिभिजन कार्यालयका प्रमुखले वातावरणीय स्वास्थ्य र प्राकृतिक स्रोत संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताए। त्यस्तै, लायन्स क्लब अफ काठमाडौँका प्रतिनिधिले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता क्रियाकलापमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।

धादिङ अस्पतालका अध्यक्षले अस्पताललाई सफा, सुरक्षित र सर्वसुलभ बनाउने दीर्घकालीन लक्ष्यसहित आगामी दिनहरूमा अझ धेरै यस्ता अभियान सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रमले अस्पतालको समग्र वातावरणमा सकारात्मक प्रभाव पार्नुका साथै समुदायमा स्वच्छता र जिम्मेवार नागरिकताको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।











