धादिङ ।
धादिङ अस्पतालले पछिल्ला वर्षहरूमा आपत्कालीन शैयामा कुकुर सुत्ने अवस्था र कार्यालय सहयोगीले एक्स–रे गर्ने जस्ता गम्भीर बेथिति देखेको भए पनि हाल अस्पतालले विशेषज्ञ सेवा, हेमोडायलाइसिस र इण्डोस्कोपीजस्ता सुविधासहित सेवा प्रवाहमा फड्को मारेको छ। तर सेवा सुधार र संरचनागत प्रगतिभन्दा पनि अस्पताल व्यवस्थापन समिति भित्रको दलगत रस्साकस्सीले अस्पताललाई फेरि विवादको केन्द्रबिन्दुमा ल्याएको छ।

गत मंगलबार बसेको अस्पताल संचालन तथा व्यवस्थापन समितिको बैठकमा नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाश श्रेष्ठले आफूलाई ‘अधिकारिक सदस्य नभएको’ भनी अपमान गरिएको भन्दै बैठकबाट निस्केका थिए। उनले त्यसपछि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै अस्पतालमा चरम बेथिति रहेको आरोप लगाएका थिए। यस घटनाले व्यवस्थापन समितिमा गहिरो असमझदारी र दलगत स्वार्थको तानातान छ भन्ने कुरा सतहमा ल्याएको छ।
श्रेष्ठको दाबीअनुसार उनी स्वास्थ्य ऐनअनुसार पदेन सदस्य हुन्, तर अस्पतालकी अध्यक्ष राधिका सापकोटाले भने नगरपालिकाबाट कुनै लिखित पत्र नआएकाले सदस्यता मान्यता नपाएको स्पष्ट पारिन्। उनका अनुसार नीलकण्ठ नगरप्रमुख भीमप्रसाद ढुंगानाले श्रेष्ठ आउँछ भनेको मौखिक सूचना मात्र आएको थियो। “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राजनीति होइन, सेवा प्राथमिकता हुनुपर्छ,” अध्यक्ष सापकोटाले भनिन्।
यसबीच श्रेष्ठको स्टाटस र अस्पतालमाथिका आरोपलाई लिएर नागरिक तहमा पनि तीव्र बहस सुरु भएको छ। कांग्रेस समर्थकहरूले अध्यक्ष सापकोटाको नेतृत्वमाथि प्रश्न उठाएका छन् भने एमाले पक्षले कांग्रेसमाथि अस्पताल सुधारमा अवरोध गर्न खोजेको आरोप लगाएको छ। सापकोटाको दावीअनुसार कांग्रेस पक्ष अस्पताललाई बदनाम गराएर निजी क्षेत्रको अस्पताललाई प्रोत्साहन गर्न उद्यत छ, र काम नगर्ने कर्मचारीको करार नवीकरणमा दबाब दिइरहेको छ।
सापकोटाले अस्पताल व्यवस्थापनको अध्यक्ष हुँदा पटक–पटक धम्की र दबाबको सामना गर्नुपरेको बताउँछिन् । “२०८२ जेठ १२ गते, एक जना कर्मचारीको विषयमा विवाद हुँदा एउटा गाउँपालिकाका अध्यक्षले मेसुकै कार्यकक्षमा आएर हातपात गर्ने प्रयास भएको थियो,” उनले भनिन्– ‘एउटा कर्मचारीलाई अल्कोहल खाएर हातपात गर्न आउने गाउँपालिकाका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसको कार्यकर्ताको त्यो दुव्र्यवहारलाई अस्पतालले कसरी हेर्ने ? उनले गरेको दुव्र्यवहार हामीसँग सिसिटिभि फुटेज छ । सत्ता साझेदार हो भनेर सधैं सही राख्नुपर्ने ? कांग्रेसको कार्यकर्ताको क्षमता विनाको भर्तीकेन्द्र बनाइ दिनुपर्ने । कदापी त्यो हुन सक्दैन, म सामाजिक काम गर्न आएको हुँ । अस्पतालको हित र सुधारको क्षेत्रमा मात्र निर्णय र काम हुन्छ ।’
अस्पतालमा कार्यरत करार कर्मचारीहरूको म्याद सकिएपछि कार्यसम्पादन मूल्यांकनका आधारमा मात्रै करार नवीकरण गर्ने निर्णय व्यवस्थापन समितिले गरेको छ। यसै निर्णयलाई लिएर केही कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
सापकोटाले अस्पताल सुधारका थुप्रै उपलब्धिहरू पनि प्रस्तुत गरेकी छन्। उनका अनुसार किड्नीका बिरामीहरूका लागि सुरु गरिएको हेमोडायलाइसिस सेवाबाट २५ जनाभन्दा बढी बिरामी लाभान्वित भएका छन्। बीमा काउन्टर अलग राखेर सेवा प्रवाहमा सुधार गरिएको र ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरूमार्फत सेवा विस्तार गरिएको दाबी उनको छ। उनले खुला रूपमा भनिन्, “म आएपछि पहिले भन्दा काम नराम्रो भयो भनेर एउटा मात्र काम र प्रमाण ल्याए अध्यक्षबाटै राजिनामा दिन तयार छु ।’
तर यी सुधारहरू राजनीतिक विवादको छायाँमा ओझेलमा परेका छन्। नागरिक स्तरमै फेसबुक स्टाटस र कमेन्टले अस्पतालको सेवा मूल्यांकन गर्न थालिएको देखिन्छ। अस्पतालप्रति चिन्ता व्यक्त गर्ने सेवाग्राहीहरूले राजनैतिक दलहरूलाई स्वास्थ्य संस्थालाई गुटगत प्रतिस्पर्धा गर्ने अखडा नबनाउन आग्रह गरिरहेका छन्।
स्वास्थ्य संस्था जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र हो। यस्तो संवेदनशील क्षेत्रमा पद, गुट र दलगत स्वार्थले होइन, दक्ष व्यवस्थापन, पारदर्शिता र सेवा–मुखी सोचले काम गर्नुपर्ने आवाज तीव्र बन्दै गएको छ। राजनीतिक स्वार्थको नाममा गरिने हस्तक्षेप, सामाजिक सेवा संस्थालाई असफल देखाएर अन्य स्वार्थ सिद्ध गर्ने प्रवृत्ति आफैँमा लज्जास्पद मात्र होइन, दीर्घकालीन रूपमा जनस्वास्थ्यप्रति खतरा पनि हुन सक्छ।
यदि राजनीतिक दलहरूले साँच्चिकै सामाजिक उत्तरदायित्व बोक्न चाहन्छन् भने, धादिङ अस्पतालजस्ता संस्थाहरूलाई राजनीतिबाट मुक्त गराउँदै दक्ष व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहमा सहकार्य गर्नुपर्ने समय आएको छ।











