धादिङ — नीलकण्ठ नगरपालिकामा खानेपानी तथा सरसफाइ क्षेत्रको सुधार र व्यवस्थापनका लागि गठन गरिएको नीलकण्ठ नगर खानेपानी तथा सरसफाइ बोर्डको अध्यक्षमा शिव प्रसाद अधिकारी नियुक्त भएका छन्। सोमबार नगरपालिकामा आयोजित एक विशेष समारोहबीच नगर प्रमुख भीम प्रसाद ढुंगानाले बोर्ड अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ गराए।

बोर्डमा कार्यपालिका निर्णय अनुसार विभिन्न वडाबाट प्रतिनिधित्व गरिएको छ। वडा नं. ३ का अध्यक्ष राजकुमार श्रेष्ठ, वडा नं. ८ का प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, वडा नं. १२ का धर्मराज भण्डारी (राजकुमार), र वडा नं. १४ का अध्यक्ष नवराज दुवाडी सदस्यका रूपमा चयन भएका छन्। साथै, भगवती उप्रेती, कृष्ण प्रसाद कोइराला, मन्जु मगर, दयाराम लम्साल, र राजाराम रिजाल पनि सदस्यमा रहेका छन् भने बोर्डको निर्देशकमा शिव राना रहेका छन्।
बोर्डमा विशेषज्ञ तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै डा. कृष्णमान शाक्य (विज्ञ सदस्य), कोपिला खान ठकुरी, नमिता थापा अधिकारी र राजकुमार श्रेष्ठलाई मनोनित सदस्यको रूपमा समावेश गरिएको छ।
शपथग्रहणपछि अध्यक्ष अधिकारीले बोल्दै नीलकण्ठ नगरलाई “तिर्खामुक्त शहर” बनाउने लक्ष्यसहित प्रभावकारी योजना कार्यान्वयनमा ल्याइने प्रतिवद्धता जनाए। उनले स्वच्छ र स्थायी खानेपानी सेवा नगरवासीको मौलिक अधिकार भएको उल्लेख गर्दै त्यसका लागि टोलीगत रूपमा काम गरिने बताए।
कार्यक्रममा नगर प्रमुख ढुंगानाले खानेपानी र सरसफाइलाई नगर विकासको मेरुदण्डको रूपमा चित्रित गर्दै सबै पदाधिकारीलाई इमान्दारिता र सक्रियताका साथ भूमिका निर्वाह गर्न आग्रह गरे।
उक्त अवसरमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी लाई नगरपालिकाले विशेष सम्मानसमेत गरेको थियो। प्रमाणपत्र र दोसल्लाले सम्मानित मन्त्री अधिकारीले निष्ठाका साथ जनताको पक्षमा काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै आफू सधैं जनसेवामा समर्पित रहने बताए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।











