२०८३ वैशाख १४ गते काठमाडौँ – नेपाली कांग्रेसले सांसदसमेत रहेका पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई संसदीय दल नेता बनाउने भएको छ ।

एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले संसदीय दल नेता आकांक्षीहरू र सांसदहरूसँग चरणबद्ध रूपमा गरेको छलफलपछि आङ्दम्बेलाई संसदीय दल नेताका रूपमा प्रस्ताव गर्न सभापति गगन थापालाई नाम दिएका छन् ।
सभापति थापाले अहिले सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यसबारे जानकारी गराउनेछन् ।
कार्यसम्पादन समितिको यसअघिको बैठकले सहमतिमै संसदीय दल नेता चयन गर्ने वातावरण बनाउन उपसभापतिहरू र महामन्त्रीहरू रहेको एक समिति गठन गरेको थियो। त्यसैले उक्त समितिले आफ्नो सुझाव केन्द्रीय कार्यसम्पादन समितिकै बैठकमा पेस गर्न लागेको हो ।
केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दल नेता चयनमा सहजीकरणको भूमिका खेलेको छ ।
संसदीय दल नेता भने सांसदहरूले नै चयन गर्नुपर्छ । त्यसका लागि आजै दिउँसो सांसदहरूको बैठकमा छलफल भई आङ्देम्बेको नाम अनुमोदन हुने जानकारी दिए ।











