काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षी दलहरूलाई न्यायालय माथि अत्यधिक निर्भर नहुन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अहिलेको समयमा लोकप्रियतावाद हाबी भइरहेकाले न्यायालय प्रति धेरै भरोसा नगर्न सुझाएका हुन् ।
भट्टराई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण रिटका बहसकर्ता समेत रहेका थिए । उक्त रिटमा सर्वोच्च अदालले आदेश जारी नगरे पछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो स्ट्याटसमा कांग्रेस, एमाले लगायतका प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको पक्षमा एकजुट भएर संघर्ष गर्न आह्वान गरेका छन् । साथै, आन्तरिक रूपमा पार्टी सुदृढ गर्न, भ्रष्ट र अनैतिक व्यक्तिहरूलाई पन्छाउन तथा संगठनलाई बलियो बनाउन पनि सुझाव दिएको छ।
भट्टराईले पपुलिज्मको उत्कर्ष अवस्थामा नागरिक अधिकार, प्रेस स्वतन्त्रता र प्रजातान्त्रिक अभ्यासहरू संकुचित हुन सक्ने चेतावनी दिँदै त्यसप्रति सजग रहन आग्रह गरेका छन् ।












