१० चैत्र २०८२, धादिङ — परिवर्तनका लागि महिला मञ्च नेपाल धादिङको आयोजनामा तथा बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको आयमूलक तथा सीप विकाससम्बन्धी महिला सशक्तिकरण तालिम सम्पन्न भएको छ । महिलालाई आत्मनिर्भर, सक्षम र उद्यमशील बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा करिब ६० जना महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
तालिमका क्रममा सहभागीहरूले आयआर्जनसँग प्रत्यक्ष जोडिने विविध व्यवहारिक सीपहरू हासिल गरेका थिए । प्रमुख प्रशिक्षक कमला लामाले विशेष गरी स्थानीय स्रोतमा आधारित खाद्य परिकार उत्पादनमा केन्द्रित तालिममा लप्सीबाट बन्ने विभिन्न परिकारहरू लप्सी क्यान्डी तितौरा, भोगटे क्यान्डी, अमला क्यान्डी टिमुरको छोप, मेवा क्यान्डी गुन्द्रुकको अचार बनाउने तरिका तथा प्रशिक्षण समेत दिनुभएको थियो । यस्ता सीपहरूले सानो लगानीमै घरेलु उद्योग सञ्चालन गर्न सकिने र आम्दानीको भरपर्दो आधार बनाउन सकिने बताउनु भयाे ।
यससँगै, तालिममा साना व्यवसाय सञ्चालनका आधारभूत तरिका, बजार व्यवस्थापन, उत्पादनको प्याकेजिङ तथा मूल्य निर्धारण, नेतृत्व विकास र आत्मविश्वास अभिवृद्धि सम्बन्धी व्यवहारिक ज्ञान पनि प्रदान गरिएको थियो । सहभागीहरूले तालिम अत्यन्त उपयोगी भएको उल्लेख गर्दै सिकेका सीपलाई व्यवहारमा लागू गरी आत्मनिर्भर बन्ने तथा समग्र सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । कार्यक्रममा परिवर्तनका लागि महिला मञ्च wfc नेपालको अध्यक्ष सरला धमलाले महिलाको दिगो सशक्तिकरणका लागि सीपमूलक तालिम र आर्थिक आत्मनिर्भरता अत्यावश्यक रहेकोले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै सामाजिक रूपमा पनि सशक्त बनाउने उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएकाे थियाे । तालिममा प्रशिक्षक कमला लामा, सामाजिक विकास इकाइ गजुरीकाे आर्थिक सहयाेग तथा नीलकण्ठ नगरपालिकाको समन्वय प्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ । साथै, कार्यक्रममा विभिन्न संघसंस्था तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।












