नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गरेको छ। पार्टी सचिवालय बैठकले यसअघि निर्णय गरेका उम्मेदवारलाई ब्याक गर्दै बझाङमा ऐन महर र कञ्चनपुर–१ मा तारालामा तामाङलाई टिकट दिएको हो ।

यसअघि बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर–१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।
अघिल्लो निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर गठबन्धनका उम्मेदवारसँग ९ सय ९८ मतको न्यून अन्तरले पराजित भएका थिए, जुन सुदूरपश्चिमकै सबैभन्दा कम मत अन्तरको हार हो । कञ्चनपुर–१ मा भने तामाङले गठबन्धनकी उम्मेदवार बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गर्दै विजय हासिल गरेका थिए ।
दुवै क्षेत्रका लोकप्रिय उम्मेदवारलाई टिकट दिएपछि एमालेले सुदूरपश्चिममा चुनावी रणनीति बलियो बनाउने संकेत गरेको छ ।











