काठमाडौं, २३ पुष २०८२ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सामाजिक सुरक्षा कोषबीच राष्ट्रिय परिचयपत्र प्रणाली (NID MIS) को विद्युतीय सेवा प्रयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका तर्फबाट महानिर्देशक नारायण घिमिरेले हस्ताक्षर गर्नुभएको हो ।
समझदारी अनुसार अब सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताहरूलाई सामाजिक सुरक्षा नम्बर जारी गर्ने, विवरण अद्यावधिक गर्ने तथा सेवा प्रवाहका क्रममा लाभग्राहीको पहिचान प्रमाणीकरण गर्न राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत उपलब्ध विद्युतीय सेवाहरू प्रयोग गर्न सकिनेछ ।
राष्ट्रिय परिचय नम्बर (NIN) का आधारमा नागरिकको नाम, जन्ममिति, ठेगानालगायत जनसांख्यिक विवरण प्रमाणीकरण, तथ्याङ्क उपलब्ध गराउने तथा जैविक विवरणको प्रमाणीकरण गर्ने सेवा समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित र भरपर्दो पहिचान सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
समझदारीमा विदेशमा रहेका नेपाली नागरिकलाई समेत राष्ट्रिय परिचयपत्रका लागि आवेदन तथा विवरण संकलन प्रक्रियामा सामाजिक सुरक्षा कोषलाई समन्वयकारी निकायको रूपमा संलग्न गर्ने व्यवस्था गरिएको छ। साथै, डाटा सुरक्षा, प्रणाली पहुँच, प्रमाणीकरण तथा प्राविधिक सहयोगसम्बन्धी प्रावधानहरू पनि स्पष्ट गरिएको छ ।
समझदारी पत्र हस्ताक्षर भएको मितिदेखि लागू हुने र आपसी सहमतिमा संशोधन गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ ।












