धादिङ, पुस १६ — धादिङ जिल्लाको खनियाबास गाउँपालिका–१ झार्लाङमा अवस्थित करिब ८ सय वर्ष पुरानो ऐतिहासिक गिलिङचो गुम्बा तथा सिचेत पोखरी–सिचेत खर्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेका छन्।


धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यको अनुपम मिश्रण रहेको यस क्षेत्र शान्त वातावरण खोज्ने, प्रकृति प्रेमी तथा धार्मिक आस्थावानहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। स्थानीय बौद्ध समुदायको आस्था र पहिचानसँग गहिरो सम्बन्ध रहेको गिलिङचो गुम्बा शताब्दीयौँदेखि धार्मिक साधना, संस्कृति र परम्पराको केन्द्रका रूपमा परिचित छ। गुम्बाले धार्मिक महत्वसँगै स्थानीय इतिहास र सांस्कृतिक जीवनको जीवित साक्षीको रूपमा आफ्नो पहिचान कायम राखेको छ ।
धादिङबेंसीबाट गाडी वा मोटरसाइकलमार्फत करिब ४ घण्टामा गिलिङचो गुम्बा पुग्न सकिन्छ । गुम्बाबाट सिचेत पोखरी र सिचेत खर्क पुग्न करिब ३० मिनेट पैदल यात्रा गर्नुपर्ने हुन्छ। स्थानीयका अनुसार उक्त पैदल यात्रा आफैंमा प्राकृतिक सौन्दर्य अवलोकन गर्ने अवसर हो ।
हरियाली डाँडाकाँडा, खुला आकाश र स्वच्छ पानीले भरिएको सिचेत पोखरी अत्यन्त शान्त र रमणीय स्थानका रूपमा चिनिँदै गएको छ। ध्यान, योग, पदयात्रा तथा प्रकृतिसँग नजिक हुन चाहने पर्यटकका लागि यो क्षेत्र उपयुक्त गन्तव्य मानिन्छ। यहाँको वातावरणले शहरको भीडभाड र तनावबाट मुक्त गराउने अनुभूति दिने पर्यटकहरू बताउँछन् ।
हरियाली वनजंगलको काखमा रहेको सिचेत पोखरी पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटक, पदयात्री तथा फोटो–भिडियो सामग्री निर्माण गर्नेहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। विशेषगरी बिहान र साँझको समयमा पोखरीमा देखिने कुहिरो, वन र डाँडाकाँडाको प्रतिबिम्बले दृश्यलाई झनै मनमोहक बनाउने गरेको छ ।
यस क्षेत्रमा देखिने सरल गाउँले जीवनशैली, मौलिक खानपान र स्थानीयको आत्मीय आतिथ्यले पर्यटकलाई थप आकर्षित गरेको छ । स्थानीय उत्पादनमा आधारित खानाले आगन्तुकलाई गाउँको जीवनसँग प्रत्यक्ष जोड्ने अवसर प्रदान गरेको स्थानीयवासीहरू बताउँछन् ।
स्थानीयका अनुसार गिलिङचो गुम्बा, सिचेत पोखरी र सिचेत खर्कको संरक्षण तथा प्रवर्द्धन गर्न सके खनियाबास क्षेत्रलाई शान्त, धार्मिक र प्राकृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना प्रशस्त रहेको छ। यसले स्थानीय रोजगारी सिर्जना, आम्दानी वृद्धि तथा क्षेत्रको पहिचान विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।











