काठमाडौँ, असोज २१ गते।

प्रधानमन्त्री सुशीला कार्कीसँग आज निर्वाचन आयोगका पदाधिकारीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा निर्वाचन कार्यान्वयनमा सरकार र दलहरूको सहयोग, स्रोत साधन परिचालन, र नागरिकको अधिकतम सहभागिता सुनिश्चित गर्ने विषयमा छलफल भएको हो।
छलफलमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, सञ्चारमन्त्री जगदीश खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सहभागी थिए।
आयोगले तिहारअघि दलहरूसँग छुट्टै छलफल गर्ने, अघिल्लो संसदीय निर्वाचनका स्रोत साधनको आधारमा नयाँ आवश्यकताको अनुमान गर्ने र आवश्यक सहयोग सरकारबाट प्राप्त गर्ने अपेक्षा राखेको जनाएको छ।
गत भदौ २३–२४ को ‘जेनजी’ प्रदर्शनपछि प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरिएको थियो।











