काठमाडौं । भदौ २३ र २४ गतेको देश-विदेशमा चर्चा रहेको आन्दोलनप्रति युवा इमान तामाङले कडा प्रतिक्रिया व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, सो आन्दोलनपछि देखिएका घटनाक्रमले युवाको सपना र देशको भविष्यमाथि खुलेआम विश्वासघात भएको स्पष्ट गरेको छ। तामाङले टिप्पणी गर्दै भन्नुभयो, यो आन्दोलनको प्रत्यक्ष उपलब्धि शून्य रह्यो, सत्ता, अदृश्य शक्तिको हातमा गयो।
उनले थप स्पष्ट पार्दै भन्नुभयो, यस्तो परिणामलाई उपलब्धि भन्नु भनेको युवाको बलिदान माथि ठट्टा गर्नु हो।

युवाको रगत माटोमा, उपलब्धि : शून्य
तामाङको प्रश्न– “नयाँ पुस्ताले देश हाक्नुपर्छ, भ्रष्टाचार अन्त्य हुनुपर्छ, स्थिर सरकार चाहिन्छ भन्ने माग थियो। तर आज परिणाम के आयो? युवाको रगत माटोमा मिसियो, उपलब्धि हातमा लाग्यो शून्य।”
युवाले खोजेका उपलब्धि, संविधानले नदिएको आश्वासन
उहाँका अनुसार आन्दोलनले सार्थक परिणाम दिन सक्थ्यो, यदि संविधानमै निम्न व्यवस्था सुनिश्चित भएको भए–
-संसदबाटै युवा–जेन्जी पुस्ताको प्रधानमन्त्री चयन।
-संसददेखि स्थानीय तहसम्म ५१% युवा (४० वर्ष मुनि) को संवैधानिक सहभागिता।
युवा पुस्ताको सहभागिता सुनिश्चित
-स्थिर सरकारका लागि कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको स्पष्ट व्यवस्था।
-भ्रष्ट नेता–कर्मचारीको सम्पत्ति छानबिन गर्ने स्वतन्त्र आयोग।
-२३ गतेको आन्दोलनको छानबिन र दोषीमाथि कानुनी कारबाही।
-२४ गते नियोजित आगजनीको बिगो असुली र दोषीलाई हदैसम्मको सजाय।
संविधान तोडफोड : उल्टो बाटोको यात्रा
तामाङ भन्छन्– “नयाँ अनुहार र स्थिर सरकार चाहिन्छ भने संविधानमै सुनिश्चित गर्नुपर्थ्यो। तर संविधान निर्माणको थलो नै भंग गरेर उल्टो बाटो हिँडियो। जेन्जी पुस्ता अझै पनि ‘उपलब्धि के हो’ भन्ने प्रश्नमै अल्झिएको छ।”
अदृश्य शक्तिको कठपुतली आन्दोलन
तामाङले ‘तातो न छारको आन्दोलन’लाई युवाको सच्चा आन्दोलन नभई अदृश्य शक्तिको कठपुतली खेल करार गर्नुभयो। “यो आन्दोलन देशको भविष्य होइन, अरुको स्वार्थको नाच मात्र सावित भयो,” उहाँको भनाइ छ।
सुशिला कार्की : आत्मा होइन, गोटी मात्र
पूर्व प्रधानन्यायाधीश सुशिला कार्की-को नाम जोड्दै तामाङले प्रहार गर्नुभयो– “यो आन्दोलन न त परिवर्तनका लागि थियो, न त युवाको भविष्यका लागि। सुशिला कार्की र अन्य अदृश्य शक्तिहरूले आन्दोलनलाई आफ्नो स्वार्थ अनुसार चलाए। उनी मात्र आन्दोलनको गोटी हुन्, आत्मा होइनन्।
अबको बाटो : संवैधानिक संघर्ष
तामाङले अन्तिममा जोड दिनुभयो– असली देशभक्त युवा–जेन्जीले अब सुशिला कार्कीको प्रधानमन्त्री नियुक्ति विरुद्ध अदालतमार्फत संवैधानिक संघर्ष गर्नुपर्छ। यही बाटोबाट मात्र मागिएका उपलब्धि हासिल हुन्छन्।











