काठमाडौँ, भदौ ३० – सरकारले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको स्मृतिमा असोज १ गतेलाई ‘शोक दिवस’ को रूपमा मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले असोज १ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गर्दै उक्त दिन राष्ट्रिय शोक दिवस मनाइने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
गृहमन्त्री अर्यालका अनुसार, सहिदका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र ५ लाख रुपैयाँ अन्य खर्च स्वरूप प्रदान गरिनेछ। साथै, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गरिने र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन तथा दुर्गम क्षेत्रमा हेलिकप्टरको व्यवस्था गरिने निर्णय गरिएको छ।
सरकारले आन्दोलनमा भएको जनधनको क्षति, ज्यादती र घुसपैठ सम्बन्धमा छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ। आयोगको प्रतिवेदनका आधारमा आवश्यक थप कदम चालिने गृहमन्त्री अर्यालले जानकारी दिनुभयो।
यस्तै, भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त भएकाहरूको स्मृतिमा ‘जेनजी जागरण स्मारक पार्क’ स्थापना गरिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।











