काठमाडौं, काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार ती शवहरू पूर्ण रूपमा जलेको अवस्थामा भेटिएकाले पहिचान गर्न सकिने अवस्थामा छैनन्।

शवको पहिचानका लागि डीएनए परीक्षण गरिने प्रहरीले जनाएको छ।
यी शवहरू २३ भदौमा भएको जेनजी आन्दोलनपछि भएको आगजनीका क्रममा भाटभटेनीमा लागेको आगोमा परेर जलेको आशंका गरिएको छ। २३ भदौमा राजधानी काठमाडौंलगायत विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएको थियो।
यस घटनापछि आन्दोलन थप उग्र बनेको थियो। भोलिपल्ट २४ भदौमा देशभर विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका थिए।
भाटभटेनीमा फेला परेका ६ शवसहित हालसम्म देशभर जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा मृत्यु हुनेको संख्या ५८ पुगेको छ।
प्रहरी र प्रशासनले घटना र मृतक पहिचानबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।











