धादिङ।
धादिङ जिल्लाको खनियाबास गाउँपालिका–१ (साविक झार्लाङ) जन्मथलो भएका सेल्बा लामा अमेरिका निवासी भएर अब प्रवासी नेपाली समाजमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल भएका छन्। हालै सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्टकी च्याप्टरको निर्वाचनमा उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

गत अगष्ट १७ र १८ मा सम्पन्न निर्वाचनमा २०२५–२०२७ कार्यकालका लागि भएको चुनावमा लामाले उल्लेखनीय मतान्तरसहित जित हासिल गरे। उनले कुल २६९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एकनारायण सुवेदीले १६० मतमा सिमित भए।
निर्वाचनपछि प्रतिक्रिया दिँदै नव-निर्वाचित अध्यक्ष लामाले एनआरएनए केन्टकी च्याप्टरमार्फत अमेरिका बसोबास गरिरहेका नेपालीहरूका हकहित, अधिकार र पहिचानको संरक्षणका लागि सधैं प्रतिवद्ध भएर लाग्ने बताएका छन्। उनले प्रवासी नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक र पेशागत क्षेत्रलाई थप सबल बनाउन विविध कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पनि जनाए।
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका लामा अमेरिका बसाईपछि पनि नेपाली समुदायसँग निरन्तर जोडिएर काम गर्दै आएका छन्। केन्टकी राज्यमा रहेका नेपालीहरूको बीचमा उनी नेतृत्व क्षमता र समर्पणका कारण चर्चित छन्।
यो जितसँगै उनी एनआरएनएमा नयाँ नेतृत्वका रुपमा उदाएका छन्, तर अमेरिका रहेका धादिङेहरूका लागि समेत गर्वको विषय बनेका छन्।











