कञ्चनपुर,

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका डुबेर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जीविका पन्त रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, ती दुई बालिका सोमबार दिउँसो करिब १:३० बजे केही साथीहरूसँग नुहाउन गएका बेला नदीमा डुबेका हुन्।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली संयुक्त रूपमा खोजी तथा उद्धार कार्यमा खटिएको छ। यद्यपि, समाचार तयार पार्दासम्म उनीहरू फेला परेका छैनन्।
स्थानीय बासिन्दा तथा बालिकाका परिवार घटनास्थलमा उपस्थित छन् भने सुरक्षाकर्मीहरूको टोलीले नदीको विभिन्न भागमा खोजी कार्य तीव्र पारेको छ। नदीको बहाव तीव्र भएकाले उद्धारमा कठिनाइ भएको बताइएको छ।
प्रहरीले नदी आसपासका अभिभावक तथा बालबालिकालाई सजग रहन आग्रह गरेको छ।











