काठमाडौँ, साउन १५ गते — प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्षको साउन १५ मा सबै नेपालीले खुसीका साथ खीर खाने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।

नेकपा (एमाले)को साहित्य, कला तथा संस्कृति विभागद्वारा बिहीबार आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साँस्कृतिक एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने यस्ता अवसरहरूलाई अझ प्रभावकारी बनाउनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो।
कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले तराई–मधेस क्षेत्रमा यो वर्ष सुक्खा परेकाले कृषि उत्पादनमा असर परेको जनाउँदै त्यसको समाधानका लागि सरकार सक्रिय रूपमा जुटेको जानकारी दिनुभयो।
उहाँले सिंचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको उल्लेख गर्दै, सनकोसी–मरिन डाइभर्सन, रानी–जमरा–कुलरिया, तमोर जस्ता प्रमुख सिंचाइ आयोजना छिटो सम्पन्न गर्न निर्देशन दिइसकिएको पनि बताउनुभयो।
प्रधानमन्त्री ओलीले खीर खाने परम्परालाई मात्र नभई यसलाई सामाजिक सद्भाव र साझा संस्कृतिको चिनारीको रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।











