१२ जेष्ठ २०८२, सोमबार पोखरा । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन हुने लगभग निश्चित भएको छ । आइतबार रातिसम्म उम्मेदवारी मनोनयन सकिएको छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारको नामावली तयार भइरहेको छ । अध्यक्षका लागि क्षितिज थेबे र सुमन पुरीले प्यानलसहित प्रतिस्पर्धा गर्ने भएका छन् ।
निवर्तमान अध्यक्ष थेबेको पक्षबाट उपाध्यक्षमा महाराज गुरुङ र बिनय शाहले उम्मेदवारी दिएका छन् । गुरुङ अध्यक्षका दाबेदार थिए । त्यस्तै थेवेको प्यानलबाट महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाहीको उम्मेदवारी परेको छ । थेबे प्यानलबाट खुला सचिव मदन भण्डारी, देबु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन् ।
त्यस्तै,पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादवले उम्मेदवारी दिएका छन् ।
पार्टी नेतृत्वले क्षितिजलाई सर्वसम्मत अध्यक्षका लागि अघि सारेको थियो । तर सुमन पुरीले अडान नछाडेपछि क्षितिजले पनि मैदान छाडेनन् र नेतृत्वकै चाहनाबमोजिम उनी अध्यक्ष र महाराज उपाध्यक्षमा समायोजन भएको दावी छ । अध्यक्षका अर्का दाबेदार कृष्णहरी केसीले नेतृत्वको आग्रहपछि थेबेलाई समर्थन गरेर मैदान छाडेका छन् ।
्











