राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसदसमेत रहेका महामन्त्री धवलशम्शेर राणा प्रहरीको सम्पर्कमा नरहेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले गत बिहीबार तीनकुने घटनामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो।
सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ६१ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
राप्रपाका नेता मिश्र र राणासहित ५० जनाविरूद्ध राजद्रोह, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको छ। ११ जनाविरूद्ध आपराधिक उपद्रव र संगठपत अपराधमा मुद्दा दर्ता भएको हो।
मुद्दा लैजाँदा प्रहरीले हाजिर जमानीमा राखेका अभियुक्तहरूलाई पनि उपस्थित गराउने गर्छ । तर हाजिर जमानीमा रहेका राप्रपाका नेता मिश्र र राणा अहिले प्रहरीको सम्पर्कभन्दा बाहिर छन्।
गत वैशाख ७ गते सांसद धवल शम्शेर राणा स्वास्थ्य उपचारको लागि हाजिर जमानीमा छुटेका थिए। उनकी श्रीमतीले जिम्मा लिएकी थिइन्।
राणा भारतको म्बईमा उपचार गराइसकेर वैशाख १४ गते स्वदेश फर्किसकेका थिए।
यता रवीन्द्र मिश्र भने आफ्नो बयान सकिसकेको र अनुसन्धानमा कुनै पनि प्रमाण खोजी गर्न बाँकी नरहेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
जेठ २ गते सर्वोच्चका न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो।
स्रोतका अनुसार रवीन्द्र मिश्र अहिले उनीहरू दुई अधिवक्ताकै सम्पर्कमा छैनन्। त्यसैले उनीहरू अहिले तनावमा छन्।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्तासमेत रहेका जिल्ला न्यायाधीवक्ता गोकुलप्रसाद निरौला राप्रपा नेताहरू मिश्र र राणा दुवै सम्पर्कमा नरहेको बताए।











