पोखरा, ९ जेठ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बलमा खोरमा थुनेर फालिएको राजतन्त्र अब नेपालमा कहिल्यै नफर्किने बताउनु भयो । एमाले निकटको राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन उद्घाटन गर्न पोखरा पुगेका ओलीले इतिहास भएको राजतन्त्र अब नफर्किने बताउनु भयो ।

‘पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्किन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौं, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु । जंगलमा जथाभावी माग्दै, खाँदै हिँडेको राजतन्त्रलाई खोरमा थुनेर त्यहाँबाट पनि मुन्ट्याइदिएका छौं । अब राजतन्त्र फर्किने कल्पना कसैले नगरे हुन्छ,’ ओलीले भने, “प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिनेजस्ता उत्ताउलो कुरा पनि गरेका छन । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास नियन्त्रण गर्न तथा रोक्नका लागि आवश्यक तयारीसहित अग्रभागमा युवा सङ्घ आउनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “एमालेमाथि आन्तरिक र बाहिरका विरोधीहरूबाट केन्द्रिकृत एवं चौतर्फी रुपमा आक्रमण भइरहेको छ । एमालेले गल्ती गरेको भए हामी अहिले जुन ठाउँमा छौैँ, त्यस ठाउँमा आउन दिने थिएनन । सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी एमाले हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरुको भ्रम र अन्योलमा नपरी आफ्ना काम–कर्तव्य पूरा गर्न म सबैसँग आग्रह गर्दछु ।”
अध्यक्ष ओलीले एमालेको योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै पार्टी नेतृत्वमाथि केन्द्रिकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिँजाउन खोज्ने प्रयासलाई तोड्न सबै देशभक्त र एमालेहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका लागि एमाले र कांग्रेसको सरकार बनेको उल्लेख गर्दै सरकार ढल्यो भनेर कराइरहेकाहरुलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरु सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट गर्नुभयो । आफूहरु भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको पनि उहाँले बताउनुभयो ।
युवा संघको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व गर्न आग्रह गर्दै अध्यक्ष ओलीले नेतृत्वमा नअटेका हरेको व्यवस्थापन हुने भएकाले लुछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरे ।











