धादिङ, चैत्र ३ — महिलाको संवैधानिक अधिकार, सशक्तिकरण र उद्यमशीलता विकासलाई लक्षित गर्दै धादिङमा विशेष कार्यक्रम सुरु भएको छ । सीपबाट समृद्धि, सशक्त महिला, सबल नेतृत्व” नारासहित सञ्चालन गरिएको कार्यक्रममा सचेतनामूलक कार्यशाला तथा सीप विकास तालिम समावेश गरिएको छ ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा “परिवर्तनका लागि महिला मञ्च (WFC) नेपालद्वारा आयोजित उक्त कार्यक्रम धादिङस्थित क्रीक रिसोर्टमा एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।
उद्घाटन समारोहमा सरोकारवाला निकायका समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमा “परिवर्तनका लागि महिला मञ्च (WFC) नेपालका अध्यक्ष सरला धमलाले महिलाको अधिकार, आत्मनिर्भरता र उद्यमशीलता विकासलाई संस्थाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले यस्ता तालिमहरूले महिलालाई सीपयुक्त, आत्मविश्वास र आर्थिक रूपमा सक्षम बनाउँदै समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
आयोजकका अनुसार तालिममार्फत महिलालाई संवैधानिक अधिकारबारे सचेत गराउँदै स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउँदै दिगो विकास र समावेशी समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।











