काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको लज्जास्पद नतिजा आएपछि नेकपा एमालेमा नीति र नेतृत्व पुनर्गठनको बहस ब्युँतिएको छ । सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको मागसहित भदौ तेस्रो साता भएको दुई दिने जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको मुद्दा मुखरर बनेपनि हतारमा ११ औं महाधिवेशन गराएर पुन: तेस्रो कार्यकाल अध्यक्षमा अनुमोदन भएका ओली त्यसलगत्तैको चुनावी नतिजामा नराम्रोसँग अस्वीकृत भएका छन् ।

कार्यकर्ताबाट अनुमोदित भएपनि जनताले ओलीको नीति र नेतृत्व दुवै अस्वीकार गरेर विकल्प रोज्न दिएको सुझावलाई मनन् गर्दै एमालेमा भित्रभित्रै यस्तो बहस चल्न थालेको हो ।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाखमतसहित संसद्मा दोस्रो ठुलो दल बनेको एमाले फागुन २१ मा सम्पन्न निर्वाचनमा संख्याको हिसाबले निकै तल झरेको मात्र होइन, उठ्नै नसक्नेगरी पछारिएको विश्लेषण भइरहेको छ । पार्टीको लज्जास्पद चुनावी नतिजाबारे स्वयं अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म मुख खोलिसकेका छैनन् । तर एमालेका अधिकांश नेता कार्यकर्ता अध्यक्ष ओलीको नीति र नेतृत्व तथा कार्यशैलीकै कारण ठुलो क्षति व्यहोर्न बाध्य भएको ठहरसहित अब नीति र नेतृत्वको विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेका छन् । यद्यपि नेता-कार्यकर्ताले यो बहस पार्टीका औपचारिक कमिटीमा गर्न पाएका छैनन् ।
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भइनसकेको र नेता-कार्यकर्ताहरू चुनावी व्यस्तताबाट निस्कन नसकेपनि उनीहरुले व्यक्तिगत रुपमा सामाजिक सञ्जाल र सञ्चारमाध्यम मार्फत आफ्ना धारणा सार्वजनिक गरेर नीति र नेतृत्व पुनर्गठनको बहस र चर्चामा ल्याएका हुन् ।











