कात्तिक महिनामा राजस्व संकलनको निराशाले सरकारी ट्रेजरीमा अप्ठ्यारो अवस्थाको संकेत देखिएको छ । अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको राजस्व तथ्यांकले यो अवस्था देखाएको हो । तथ्यांक अनुसार पहिलो चौमासिक (कात्तिक) सम्म सरकारले सम्म सरकारले कुल ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । असोजसम्म संकलित राजस्व २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । कात्तिकसम्म संकलित रकम कुल लक्ष्यको ७७.४९ प्रतिशत हो ।

कात्तिक महिनामा सरकारले १ खर्ब ३ अर्ब ६९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, यस अवधिमा संकलित राजस्व ७८ अर्ब ३३ करोड रुपैयाँमा सीमित हुन पुग्यो । यो संकलन मासिक लक्ष्यको तुलनामा मात्र ७५.५४ प्रतिशत हो । यो गत महिनाभन्दा १४ अर्ब १३ करोडले कम हो । यो राजस्व संकलन अघिल्लो महिना असोजको तुलनामा निकै कमजोर रहेको छ ।
असोज महिनामा सरकारले १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँको लक्ष्य राखेकोमा ९२ अर्ब ४६ करोड रुपैयाँ राजस्व उठाएको थियो । असोजमा लक्ष्य प्राप्तिको दर ८९.७१ प्रतिशत थियो। यसरी हेर्दा कात्तिक महिनामा लक्ष्य प्राप्तिको दर असोज महिनाको तुलनामा १४.१७ प्रतिशत विन्दुले कम हुन पुगेको छ । यसले समग्र राजस्व प्राप्तिको लक्ष्यलाई नै गत महिनाको तुलनामा ०.६३ प्रतिशत विन्दुले घटाएको देखिन्छ ।











