काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले आज साँझ ७ मिनेट ११ सेकेण्डको भिडिओ सन्देशमार्फत सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, व्यक्ति, व्यापारीका घर, भाटभटेनीमा आगजनी र लुटपाट जसले गराएको त्यसले जिम्मा लिनुपर्ने उनले बताएका छन् ।

प्रसाईँले नेपालमा पश्चिमाहरूको प्रभाव देखिन थालेको भन्दै यसको अन्तिम उद्देश्य भनेकै पश्चिमाहरूको डिजाइनमा यो देश कब्जा गर्ने ठूलो खेल सुरू गरिएको दाबी गरेका छन् । बालेन साह पश्चिमाहरूको मान्छे भएकाे उनले बताए ।
२३ गते र २४ गतेको घटनामा के दुःख लागेको छ भने मान्छेहरूका घर जलाउनु, सम्पत्ति तोडफोड गर्नु र सिंहदरबारमा आगो लगाउनु, सर्वोच्च अदालतमा आगो लगाउनु, जोसुकैको घरमा पनि आगो लगाउनु र व्यापारीहरूको घर, होटेल सबैमा आगो लगाउनु, भाटभटेनी जस्ता ठाउँमा आगो लगाउनु, यो एकदम दुःखदायी हो ।
मैले विगत १३ वर्षदेखि आफूसँग भएको घटनालाई आधार मानेर र यो देशमा पश्चिमाहरूको खास गरेर पश्चिमाहरूको प्रभाव कस्तो छ भनेर मैले एउटा स्टाटस लेखेको छु र पश्चिमाहरूको जुन प्रभावले आज देशलाई कुन स्थितिमा पुर्याउँदै छ, त्यो कुरा मैले स्टाटसमा सबै लेखेको छु । त्यो राम्रोसँगले पढ्नुहोला र राम्रोसँगले अध्ययन गर्नुहोला । खास गरेर बुद्धिजीवीहरूलाई त्यो स्टाटस पढ्न भन्छु ।
यो घटनामा मेरो, हाम्रो अभियानको पनि नाम आयो । हामी राजावादी होइनौँ भनेर हामीले अस्ति क्लियर गरेका छौँ । हामी राष्ट्रवादी हौँ र हाम्रा अभियन्ता साथीहरू, म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि । किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नुभएको थियो र यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्ने प्रसाईँले बताए ।











