धादिङ, भदौ १५ — विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै धादिङका शिक्षकहरू आन्दोलित भएका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा, र धादिङ जिल्ला समितिको संयोजनमा, आइतबार बिहान शिक्षकहरू शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय धादिङको प्रांगणमा भेला भई धर्नामा बसेका हुन्।

शिक्षकहरू दोस्रो चरणको आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले विद्यालय शिक्षा विधेयकले शिक्षकहरूको भविष्य, सुरक्षाका सवाल र पेशागत स्थायित्वमाथि गम्भीर प्रहार गरेको भन्दै असन्तोष जनाएका छन्।
नेपाल शिक्षक महासंघ धादिङका अध्यक्ष ठान प्रसाद बसौलाका अनुसार, सरकारले विगतदेखि उठाइएका मागप्रति उदासिनता देखाएकाले बाध्य भएर आन्दोलनको दोस्रो चरण सुरु गर्नुपरेको हो।
मुख्य मागहरू यस्ता छन्:
-
राहत र साविक उ.मा.वि. तहका शिक्षकहरूलाई अस्थायी शिक्षक सरह आन्तरिक वा खुला प्रतिस्पर्धाबाट स्थायी बनाउने व्यवस्था,
-
योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्ने,
-
बाल विकास तहमा कार्यरत शिक्षकहरू र विद्यालय कर्मचारीको दरबन्दी सुनिश्चित गर्नु र उचित पारिश्रमिकको व्यवस्था मिलाउने।
धर्नामा सहभागी शिक्षकहरू सरकारसँग आफ्ना मागहरू यथाशीघ्र सम्बोधन गर्न आग्रह गर्दै, अझ सशक्त आन्दोलनका चरणहरू तयार भइरहेको चेतावनी पनि दिएका छन्।











