धादिङ — सार्वजनिक सवारीमा मनोमानी भाडा असुलेको भन्दै नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका कमिटी, धादिङले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको ध्यानाकर्षण गराएको छ। धादिङबेसीदेखि सल्यानटारसम्मको करिब ३३ किलोमिटर पक्की सडक खण्डमा अत्यधिक भाडा लिइएको भन्दै एमालेले सोमबार प्रमुख जिल्ला अधिकारीलाई लिखित ध्यानाकर्षण पत्र बुझाएको हो।

पार्टी अध्यक्ष बाबुकृष्ण श्रेष्ठका अनुसार सो दूरीमा यात्रुहरूबाट २५० रुपैयाँसम्म भाडा असुलिँदै आएको छ। “पहिले कच्ची सडक हुँदा तय भएको भाडा अहिले पिच बाटो भएर पनि उस्तै राखिएको छ,” अध्यक्ष श्रेष्ठले भने, “बागमती प्रदेश सरकारले तोकेको मापदण्डअनुसार सार्वजनिक सवारीले प्रतिकिलोमिटर प्रतिव्यक्ति अधिकतम तीन रुपैयाँ लिन पाउने व्यवस्था छ, तर हालको दर कानुनविपरीत छ।”
एमाले त्रिपुरासुन्दरी कमिटीले धादिङबेसी–गोलाङ–आगिञ्चोक, धादिङबेसी–धुवाकोट–भर्याउ–भुरुड–कटुजे, धादिङबेसी–चैनपुर–खरीमैदी, र धादिङबेसी–सुनौला बजार लगायतका सडकखण्डमा समेत यातायात भाडादर कानुनअनुसार कायम गर्न माग गरेको छ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले तत्काल सरोकारवालासँग छलफल गरी भाडादर पुनःनिर्धारण गर्ने प्रतिबद्धता जनाए। “चाडपर्वका बेला भएको मनोमानी पनि हुन सक्छ,” सुवेदीले भने, “तत्काल राजनीतिक दल, सञ्चारकर्मी र यातायात व्यवसायीहरूसँग बैठक गरी समाधानतर्फ जानेछौं।”
स्थानीय बासिन्दा र यात्रुहरूले लामो समयदेखि सवारी भाडामा पारदर्शिता र नियन्त्रणको माग गर्दै आएका छन्। यो कदम यात्रु हितमा सकारात्मक हुने अपेक्षा गरिएको छ।











