काठमाडौं, काठमाडौं महानगरपालिका–१२, टेकु दोभानस्थित वंशिघाट बाग्मती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक बालकको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

स्थानीय ८ वर्षीय सुदीप गौतम भदौ ७ गते दिउँसो करिब साढे २ बजे बाग्मती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको बताइएको छ। घटनाको जानकारी प्राप्त भएपछि उद्धार तथा खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलवाराही गण काठमाडौँबाट सुरक्षा टोली खटिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
डिएसपी थापाका अनुसार, सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त विशेष टोलीलाई घटनास्थलमा परिचालन गरिएको छ। उद्धार टोलीले बाग्मती नदीको सम्भावित क्षेत्रमा खोजीकार्य तीव्र पारेको छ।
सुरक्षाकर्मीहरू नदी किनार तथा भित्र गहिराइसम्म खोजी गरिरहेका छन् भने स्थानीय बासिन्दा र परिवारजन पनि घटनास्थलमा उपस्थित छन्। अहिले सम्म बालकको अवस्था बारे थप जानकारी आएको छैन।











