धादिङ — नेपाल निजामती कर्मचारी संगठन, धादिङले नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

सहिद मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा दलित, आर्थिक रूपले कमजोर र पढाइमा अब्बल ११ जना विद्यार्थीलाई कापी, कलम, रङ, ज्यामेट्री बक्स लगायत आवश्यक सामग्री प्रदान गरिएको हो।
संगठनका अध्यक्ष वीर बहादुर दुवाडीका अनुसार, हरेक वर्ष स्मृति दिवसका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिँदै आएको छ। “यस पटक विद्यालयमा अध्ययनरत बालबालिकालाई केही सहयोग होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको हो,” अध्यक्ष दुवाडीले बताए।
सामग्री प्राप्त गरेका विद्यार्थी र अभिभावकहरूले खुशी व्यक्त गर्दै यस्तो सहयोगले पढाइमा थप उत्साह मिल्ने बताएका छन्। छात्र सुसिम मगरले भने, “सामग्री धेरै काम लाग्नेछ। पढाइमा अझ मन लगाउनेछु।”
संगठनले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर गर्दै जाने प्रतिबद्धता जनाएको छ।











