नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूमाथि लागेको आरोपबारे केन्द्रीय समितिमा जबाफ दिनुपर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै चौधरीले पार्टी कार्यकर्ता र जनतामा पनि अन्योल सिर्जना गरेकाले त्यसबारेमा केन्द्रीय समिति बैठकमा जबाफ दिनुपर्ने बताएका हुन्।
कास्कीको लिची बगैँचाको जग्गा हत्याउन घुस डिल गरिएको प्रकरणमा मुछिएपछि नाउपा अध्यक्ष श्रेष्ठ बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्वाइस टेस्टका लागि हाजिर भएकी थिइन्।
त्यसपछि आफ्नो सुझावमा केन्द्रीय समिति बैठक बोलाइएको चौधरीले बताएका छन्।
‘मैले बोलाइएको बैठक होइन, वैधानिक होइन भनेर अध्यक्ष पन्छिन पाउनुहुन्न। साथीहरूले बैठक बोलाउनुभएछ के कारणले बैठक बोलाउनुभएछ भनेर उहाँले सोधिखोजी गर्नुपर्छ। उहाँ अध्यक्ष भएपछि हरेक सदस्य उहाँको परिवार हो। उहाँहरूसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो,’ उनले भने।
अहिले उत्पन्न परिस्थिती पनि रञ्जिताकै कारण आएको उनले बताएका छन्।
‘अहिले उत्पन्न परिस्थिती हाम्रा कारण होइन। तपाईंका कारण सिर्जना भयो। तपाईंका कारण सिर्जना भए पनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास गरेकै छौं। तपाईं केन्द्रीय समितिको बैठकमा आउनुपर्छ। स्पष्ट रूपमा जबाफ दिनुपर्छ,’ रेशमले भिडिओ सन्देशमार्फत भनेका छन्।
सत्य कुरा केन्द्रीय समितिमा राखेपछि पार्टीले पनि आधिकारी धारणा राख्ने परिस्थिती निर्माण हुने रेशमले बताएका छन्।











