काठमाडौँ, साउन ५ — नेपाल र चीनबीच चार प्रमुख विकास परियोजनामा सहकार्यको नयाँ चरण सुरु भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का अध्यक्ष चेन सियाओदोङ्गबीच सोमबार सम्पन्न भेटवार्तापछि समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

अर्थ मन्त्रालयका अनुसार चीनले निम्न चार परियोजनामा सहयोग गर्ने छ:
-
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण।
-
निजामती कर्मचारी अस्पतालको विस्तारका लागि सम्भाव्यता अध्ययन।
-
मानव संसाधन विकाससम्बन्धी द्विपक्षीय सहकार्य।
-
रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माणको सम्भाव्यता अध्ययन।
साथै, रसुवामा केही समयअघि बाढीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणमा चीनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
CIDCA अध्यक्ष सियाओदोङ्गले भौतिक पूर्वाधार पुनर्निर्माण र भन्सार प्रक्रियालाई सहज बनाउन आवश्यक कदम चालिने आश्वासन पनि दिएका छन्।
यस सहकार्यले दुई देशबीचको रणनीतिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।











