काठमाडौं–नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् ।

परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने जानकारी दिनुभयो ।
‘संवादमा करिब ३५० जना सहभागी हुनुहुनेछ। बाह्र देशको उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुने छ ।
पहिलो संस्करणको सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ। सगरमाथा संवाद नेपालले स्थापना गरेको एउटा अन्तरराष्ट्रिय मञ्च हो। मानव जगतका विभिन्न समस्या र मुद्दाबारे संवाद गर्ने, छलफल गर्ने तथा समाधानका लागि एउटा निष्कर्षमा पुग्ने यसको उद्देश्य रहेको छ ।
‘संवादको तयारी अन्तिम चरणमा पुगेको छ। हामीले तयारीका विभिन्न चरण पार गरी यहाँसम्म आइपुगेका छौँ। हामीले १० वटा जति पूर्वसंवादलगायतका तयारी पूरा गरेका छौँ,’ मन्त्री डा राणाले बताउनु भयो।











